किन जनै पूर्णिमा मनाइन्छ | Janai purnima | Ancient Nepal
धागो अर्थात् बन्धन, पवित्रता र सुरक्षाको बन्धन । ब्राह्मण र क्षत्रिय पुरुषहरुले हिन्दु परम्परा अनुसार यज्ञोपवित अर्थात जनै लगाउने चलन रहि आएको छ । बाल्यकाल पश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी गुरू-पुरोहितद्वारा अरूले नसुन्नेगरी कानमा गायत्री मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ संकल्प लिएर देब्रे काँधमाथि पर्नेगरी दाहिने हातको मुन्तिर पारेर गुरू पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छl रक्षाबन्धन बाँधिएको धागो निकालेर गाई तिहारकादिन गाइलाई माला उनेर लगाइदिने अथवा पुच्छरमा बेरीदिने चलन पनि छ । हिन्दु परम्परा अनुसार यसो गर्दा पूण्य प्राप्त हुने विश्वास रहि आएकोछ । विशेषतः ब्राह्मण, क्षत्रीय या अन्यकुनै बैदिक धर्म पालनगर्ने समूदायमा ब्राह्मण पुरोहितसंग हातको नारिमा मन्त्रेको डोरा लगाएर यो पूर्णिमा मनाइने गरीएको छ । सनातन् हिन्दू वैदिकग्रन्थ अनुसार काँचो धागोबाट बनेको जनैलाई ब्रह्मसूत्र अर्थात् वेदोक्त्तकर्म सम्पादनार्थ तथा वेद अध्ययन निमित्त योग्यता हासिल गर्नकालागि ग्रहण गर्न मन्त्रिएर तयार पारीएको ६ सूते धागोको समूह हो जसलाई तयार पार्दा ३-३ वटा डोराको दुर्इवटा बन्धन तयार पारिन्छ जसलाई शिखा भनिन्छ । शिखाहरूमध्ये एउटा जनैका शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को जनैका शिखामा रहेका तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतिकहरूको योग मानिन्छ ।
यज्ञोपवितले ब्राह्मणपथमा लाग्ने राहदानीको कार्य गर्दछ तथापि ब्राह्मणपथ भन्नाले जन्म हैन कर्मले प्राप्त हुने पथ हो । आत्मिक शुद्धता, सकल जगतको भलो अनि अध्यनशिलताको पथनै ब्राह्मण पथ हो । ब्राह्मणलाई केवल जात, भाषा र खलकका रुपमा मात्र हैर्न हुँदैन । जुनसुकै धर्म या जातिय पृष्ठभूमिको भएपनि अध्यनशीलता र आत्मिक शुद्धताको ब्राह्मणपथमा आलीन हुन सक्दछन् ।
आज काठमाण्डौको पशुपतिनाथ, कुम्भेश्वर महादेव, रसुवाको गोसाँईकुण्ड, जनकपुरको गङ्गासागर, धनुषसागर, सोलुखुम्बुको दूधकुण्ड, खोटाङको हलेसी, जुम्लाको दानसाधु, नगरकोट लगायतका पर्वतीय शिखर, महादेवस्थान र त्रिवेणीधामहरुमा मेला पनि लाग्दै आएको छ ।
Comments
Post a Comment